राजनीतिक हस्तक्षेपले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त

सुनसरीको धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको छ । पदाधिकारीले प्रतिष्ठान सञ्चालनमा लापरबाही गर्दा चिकित्सक र कर्मचारीले आन्दोलन गर्ने गरेका छन् । चिकित्सक र कर्मचारी आन्दोलित भएकै कारण आइतबारदेखि आकस्मिकबाहेक सेवा ठप्प भएको छ । सयौं बिरामी बिना उपचार फर्किन बाध्य भएका छन् । प्रतिष्ठान व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै उनीहरू काम छाडेर आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले बिरामीको पुर्जा काट्ने बिल काउन्टर बन्द गरेका छन् । व्यवस्थापन पक्षले लामो समयदेखि चिकित्सकको बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनुपरेको प्रतिष्ठानको शिक्षकको भनाइ छ । पदाधिकारी उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र निर्देशकहरू दलीय आस्थाका भरमा नियुक्त हुँदा संस्थाको साख गिर्दै गएको हो ।  धेरैजसो पदाधिकारी भ्रष्टाचारमा मुछिएका छन्। संस्थालाई मजबुत बनाउनभन्दा पनि आर्थिक अनियमितताका घटनामा संलग्न रहँदा स्वास्थ्य सेवा र दक्ष जनशक्तिमा ह्रास आउन थालेको छ । प्रतिष्ठानबाट अवकाश भइसकेका प्रल्हाद कार्कीलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले कामु उपकुलपतिको जिम्मेवारी दिएका कारण संस्था सञ्चालनमै गम्भीर समस्या भएको बताइन्छ । कार्की कार्यालयमा नबस्ने गरेका कारण प्रतिष्ठान सञ्चालनमा समस्या भएको भन्दै धरानका प्रमुख हर्कराज राईले उपकुलपति कार्यालयमा ताला लगाएका छन् । उनले बीपी प्रतिष्ठान स्थानीय सरकारलाई सञ्चालन अनुमति दिन सरकारसँग माग गरेका छन् । प्रतिष्ठानमा दैनिक २५ सयदेखि ३ हजारसम्म बिरामी उपचार उपचारका लागि पुग्ने गरेकाच छन । चिकित्सक र कर्मचारीको आन्दोलनका कारण आइतबारदेखि आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेपछि विरामी उपचार विनै फर्कन बाध्य भएका छन । 

प्रतिक्रिया