बरहथवा भोलि विहान ८ बजेसम्मका लागि पुनः कफ्र्यु आदेश जारी
सर्लाहीको बरहथवामा पुनः कफ्र्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै आज दिउँसो पौने १ बजेबाट भोलि विहान ८ बजेसम्म कर्फर्यू आदेश जारी गरेका हुन् । बरहथवा नगरक्षेत्रको पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तर सोती पुल क्षेत्रमा कफर्यु लगाइएको हो । शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने विषयलाई लिएर भएको झडपका क्रममा प्रहरीको गोली लागि बरहथवा नगरपालिका–६ का करिब २७ वर्षीय साहको मृत्यु भएको थियो । साहको मृत्यु भएपछि आफन्त र स्थानीयले विभिन्न माग राख्दै प्रदर्शन गर्दै आएका छन् । त्यसैलाई मध्यनजर गरी प्रशासनले सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदंगा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भंग हुन सक्ने अवस्था देखिएकाले कर्फ्र्यू जारी गरिएको जनाएको छ । प्रशासनले कर्फूर्यको समयमा कुनै किसिमको भेला हुन र बाहिर आवतजावत गर्नमा रोक लगाएको छ । प्रशासनले आदेश उल्लंघन गर्नेलाई सुरक्षा कर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएका छ । यसैबीच, गोली लागेर मृत्यु भएका साहको शव तीन दिनदेखि उठन सकेको छैन । मृतकका आफन्त र आन्दोलनरत स्थानीयले विभिन्न माग राख्दै शव उठाउन नमानेका हुन् । उनीहरुले घटनाको छानविन, दोषीलाई कारबाही, मृतकलाई सहीद घोषणा, पीडित परिवारलाई राहत, नगर अस्पतालाई ५० शैयामा स्तरोन्ती, मृतकको नाममा अस्पतालको नामाकरण र बरहथवामा मृतकको शालिक निर्माण गर्नुपर्ने माग गरेका छन् । सरकारले मृतक युवकका आश्रित परिवारलाई १० लाख राहत दिने घोषणा गरिसकेको छ । त्यसैगरी घटनाको छानविन गर्न गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति पनि गठन गरेको छ । घटनाबारे सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समयसीमा दिइएको छ ।।
प्रतिक्रिया