विवाह पञ्चमी महोत्सव अन्तर्गत आज जनकपुरमा तिलकोत्सव हुँदै

जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज तिलकोत्सव पर्व हुँदैछ । आज दिउँसो जानकी मन्दिरबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको नेतृत्वमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको तिलकोत्सवका लागि भारसहित साधुसन्तहरु जनकपुरधामको राममन्दिर पुगेर तिलक समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । नगर दर्शनबाट शुरु भएको श्री सीताराम विवाह पञ्चमीको चौथो दिन आज राम मन्दिरमा हुने तिलकोत्सवमा जानकी मन्दिरबाट १ सय १ भार सहित साधु सन्त, महन्थ, योगी, सन्यासी, प्रशासनिक निकाय तथा लब्ध प्रतिष्ठितहरू राम मन्दिर पुगेर भगवान् रामको तिलक गर्ने कार्यक्रम छ । राम मन्दिरमा माता जानकीको पिताको रुपमा जानकी मन्दिरका महन्थ जनकको भूमिका र राम मन्दिरको नेतृत्व राम मन्दिरका महन्थले दशरथको भूमिका निर्वाह गर्ने चलन रहेको छ । तिलकोत्सवमा दुवै मन्दिरका महन्थले सम्धी मिलन गर्ने गर्दछन् । तिलकोत्सव हेर्नका लागि भारी सङ्ख्यामा तीर्थयात्रीहरू राम मन्दिर क्षेत्रमा उपस्थित हुने गर्दछन । सीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोलि मटकोर, पर्सी स्वयंम्बर तथा शुभ विवाह तथा अन्तिम दिन राम कलेवा हुने गर्दछ । आगामी सोमबार रामकलेवा अर्थात भोजनपछि वस्त्र र दक्षिणा दिएर जन्ती बिदाइपछि साताव्यापी विवाह पञ्चमी महोत्सव समापन हुने गर्दछ ।
 

प्रतिक्रिया