जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन फूलबारी लीला मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव हिजोवाट वधिवत रुपमा शुरु भएको हो । पहिलो दिन हिजो जानकी मन्दिर प्राङ्गणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गराइएको थियो । त्रेतायुगमा भगवान राम र जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप विवाह पञ्चमी मनाइने गरिन्छ । भोलि विवाह पञ्चमी थालनी भएको पहिलो दिन राम बनेका व्यक्तिले धनुष भाँचेपछि चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर र छैठौँ दिन स्वंयर गरेर रामसीताको विवाह उत्सव सम्पन्न हुन्छ ।महोत्सवको तेस्रो दिन भोलि धनुष यज्ञ, चौथो दिन शुक्रवार तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुनेछ । यसपटक विवाह पञ्चमी अवधिभर नेपाल र भारतबाट झण्डै दुई लाख दर्शनार्थी आउने अपेक्षा गरिएको छ । महोत्सवलाई लक्षित गरी जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आउँदो शुक्रबारदेखि आइतबारसम्म माछामासु र मदिरा बिक्रीमा स्थानीय प्रशासनले रोक लगाएको छ । 

प्रतिक्रिया