काठमाडौंको पशुपतिनाथमा शतबीज छर्नेको विशेष मेला

आज मार्ग कृष्ण पक्षको चतुर्दशी,  पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ ।  आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ । शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिएको थियो । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । श्रद्धालुहरु त्रयोदशीको दिन राति पितृका नाममा दीप बाली जाग्राम बसेका थिए । अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ । श्रद्धालुहरु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गर्दछन् । शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन् । चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका शतबीज छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको छ ।भगवान् शिव मृगरूप लिएर घुमेको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ ।।

प्रतिक्रिया