गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने कार्यक्रम छ । पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक  जन्मजयन्ती मनाइने तयारी छ ।   यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरेका थिए । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात उनले गरेको विश्वास गरिन्छ ।  उनले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए । दिवसका अबसरमा शुभकामना दिदै राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरूद्ध मानिसलाई सचेत गराउन खेलेको भूमिका सदैव स्मरणीय रहेको बताएका छन ।। 

प्रतिक्रिया