काठमाडौंमा ‘चोक्ते नारायण’ जात्रा मनाइदै, हाँडीगाउँको जात्रा कहीँ नभएको जात्राको रुपमा लोकप्रिय

काठमाडौ । काठमाडौंको हाँडीगाउँमा आज ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरी ‘चोक्ते नारायण’ जात्रा मनाइदैछ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलीपल्ट गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत यो जात्रा चिनिन्छ । सामान्यतः अन्य ठाउँको खट जात्रामा गजुर टुप्पोमा भएको मन्दिरको जात्रा गरिन्छ । तर, हाँडीगाउँको जात्रामा गजुर भुईंपट्टि र देवता टुप्पोमा भएको उल्टो मन्दिरको जात्रा गरिन्छ । मन्दिर सुनको धागोले उनेको मैनको फूलले सजाइएको पृथ्वीजस्तो घुम्ने आकारको हुन्छ । यस्तो अनौठो मन्दिरलाई १५÷१५ गुठीयारले बाकेर जात्रा गरिने भएकाले यसलाई कहीं नभएको जात्राका रूपमा चिनिएको हो । यसका अतिरिक्त मैनबाट बनेको फूलको प्रयोग र गजुरमाथि तथा मूर्ति तल राखिने भए पनि यसमा ठिक विपरीत हुने हुनाले यो जात्राको अलग्गै पहिचान रहेको छ । जात्राका क्रममा मूर्तिलाई विधिवत पूजा गरी खटमा विराजमान गराई नगर परिक्रमा गराइन्छ । ब्रह्माको प्रतीकका रूपमा खट कोताः टोलका, विष्णुको खट न्याल्म टोल र महेश्वरको थतु टोलका गुठीयारले बोकेर जात्रा गर्ने चलन छ । खट कोताः टोलबाट हाडीगाउँस्थित मूल डबली– बीच लाछी– भूतेश्वर हुँदै थतु टोलमा पु¥याइन्छ । ब्रह्मा, विष्णु र महेशको पूजा, आराधना गरी टोलटोलमा रथ घुमाएर मनाइने यो जात्रा विगतमा भने रातको समयमा मात्र मनाइने गरिन्थ्यो । राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो ।  चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको विश्वास गरिन्छ । प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने धार्मिक विश्वास समेत छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको छ ।

प्रतिक्रिया