लेखा समिति सभापतिका पूर्व स्वकीय सचिव पोखरेललाई धरौटीमा छाड्न आदेश
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई जिल्ला अदालत मोरङले ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले बिहीबार ठगी मुद्दामा ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर गरेको थियो । बिहीबार भएको उनको बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धरौटीमा छाड्न मोरङ अदालतले आदेश दिएको हो ।
पोखरेलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
पोखरेल गत पौष २५ गते पक्राउ परेका थिए । प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
उनी ठगी मुद्दामा जोडिएपछि सभापति पोखरेलले उनलाई जिम्मेवारीबाट हटाएका थिए ।
प्रतिक्रिया