मकवानपुर ट्राफिकले ६ महिनामा सङ्कलन गर्यो १ करोड ३२ लाख राजस्व
बागमती । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधन माथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आर्थिक वर्षको साउन देखि पुस मसान्तमा १ करोड ३२ लाख २४ हजार ५०३ राजस्व सङ्कलन भएको छ ।
सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारवाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । यो अघिल्लो अर्थिक वर्षको सो अवधिको तुलनामा १६ लाख २० हजार ५०० बढी राजस्व सङ्कलन भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधन माथि कारवाही गरी एक करोड १६ लाख ४ हजार राजस्व सङ्कलन गरेको थियो ।
यस्तै, सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भिर घाइते भएका छन् ।
ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
रासस
प्रतिक्रिया