इन्द्रजात्रा आज सकिदैे, बेलुकी लिंगो ढालेर बागमतीमा सेलाउने

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको इन्द्रध्वजा लिंगो ढालेसँगै उपत्यकाकै ठूलो अनि भव्य रुपमा मनाइने इन्द्रजात्रा आज सकिदैछ ।  उपत्यकामा आठ दिनयता चल्दै आएको इन्द्रजात्रा आ नानिचा अर्थात महिलाले रथ तान्ने जात्रासँगै सकिदै छ । असोज ९ गतेदेखि सुरु भएको जात्राको अन्तिम दिन आज रथ वसन्तपुर हनुमानढोकास्थित कुमारीघरदेखि नरदेवी–इन्द्रचोकतर्फ तानिन्छ । जात्राको अन्तिम दिन राति राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको हातबाट टीका ग्रहण गर्न हनुमानढोका जाने प्रचलन छ । जात्राको अन्तिम दिन विधिपूर्वक कुमारी र अन्य देवीदेवताको पूजाआजा गर्ने परम्परा छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको इन्द्रध्वजा लिंगो आजै राती ढालिदैछ । लिंगो ढालेसँगै उपत्यकाकै ठूलो अनि भव्य रुपमा मनाइने इन्द्रजात्रा सकिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौथीका दिनसम्म रथयात्रा गरेर इन्द्रजात्रा मनाइने गरिन्छ । विभिन्नथरीका नाच र पर्वको मिश्रित इन्द्रजात्रा हनुमानढोकास्थित किलागलबाट सुरु भएको इन्द्रजात्राले नाचगानसहित वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत ठाउँ परिक्रम गरेको थियो । आठदिने जात्रामा विशेष गरी कुमारी, भैरव र गणेशको पूजा गरिन्छ । जात्रा अवधिभर अनुहारमा विभिन्न देवीदेवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाई उपत्यकाका नेवार समुदायका कलाकारले नाच प्रस्तुत गर्दछन । करिब तीन सय वर्षअघि मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा सुरु गरिएको मानिन्छ । 
 

प्रतिक्रिया