वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फूलेका छन् । हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा वडाध्यक्ष लालबहादुर ऐर भेटिन्छन् । 

कार्यालय बाहेकको समय वडाध्यक्ष ऐरले फूलबारीको रेखदेखमा व्यस्त हुन्छन् । एक वर्ष देखि उनले फूल गोडमेल गर्ने, सिँचाइ गर्ने, बारी बनाउने लगायत काम आफैँले गर्दै आएका हुन् । उनले कार्यालयमा कर्मचारी आउनु पहिले नै फूलमा पानी हाल्ने, सडक क्षेत्र सरसफाइ गर्ने लगायत काम आफैँले गर्ने गरेका छन् । 

आफूले पाउने केही पारिश्रमिक छुट्याएर कार्यालयलाई आकर्षक बनाउन लागेको वडाध्यक्ष ऐरले बताए ।  कार्यालयमा आउने सेवाग्राहीले पालो पर्खंदा फूल सँग रमाउने बताउदै यसले सेवाग्राहीलाई आनन्दित बनाएको जानकारी उनले दिए । 

‘फूलबारी निर्माणले कार्यालयको सौन्दर्यता बढाउनुका साथै सेवाग्राहीले पालो कुरिरहँदा पनि फोटो खिच्ने, टिकटिक बनाउने लगायत गतिविधिमा संलग्न भएर आनन्द अनुभूति गरिरहनुभएका पाएका छौँ’, वडाध्यक्ष ऐरले भने, ‘यसले वातावरण स्वच्छ राख्न मद्दत पनि गरिरहेको छ ।’ फूलबारी बनाउने कामले समाजमा सकारात्मक सन्देश जानुका साथै अरुले पनि यसको अनुसरण गरेर घरघर सजावट गर्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे । 

कार्यालयको काम नहुँदा पसल, चोक, चौराहमा अनावश्यक गाफमा भुल्नु भन्दा परिसरमा रहेको बाँझो जमिनको उपयोग गरी फूलका बिरुवा रोपेर हराभरा बनाउने तर्फ जुटेको वडाध्यक्ष ऐरले बताए ।  बारीमा स्थानीय प्रजातिका साथै बाहिर बाट मगाएर एक सय बढी प्रजातिका बिरुवा रोपेको उनले जानकारी दिए ।  गाउँमा अन्यत्र नपाइने प्रजातिका फूल वडा कार्यालयको बारीमा फूलेका स्थानीय सुरेश भट्टले बताए । 

“कार्यालयको मुहार फूलबारीले सुन्दर र आकर्षित बनाएको छ”, उनले भने, “पहिले कार्यालय परिसरमा आउँदा धुलो मात्रै देखिन्थ्यो, अहिले भुइँमा सिमेन्टका टायल विछ्याएका छन्, वरिपरी पूरै फूलबारीले हराधरा दसखन्छ, तनाव लिएर कार्यालय जाँदा फूलबारीको सुन्दरताले आनन्दित बनाउँछ ।”

वडामा रहेका बेला वडाध्यक्ष आफैँले फूलबारीमा बिरुवा रोप्ने, गोडमेल तथा झारपात उखेलर सफा गर्ने, सिँचाइ गर्ने लगायत काम गर्ने कर्मचारी केशवराज जोशीले जानकारी दिए। “वडाध्यक्ष जिल्ला बाहिर गएका बेला कर्मचारीले फूलबारीको रेखदेख र स्याहार गर्दै आएका छौँ”, उनले भने।

आगामी दिनमा कार्यालय परिसरमा बाँकी रहेको जमिनमा हरियालीका लागि चाइनिज दुवो रोप्ने र पोखरी बनाउने योजना रहेको वडाध्यक्ष ऐरले बताए । 
रासस 
 

प्रतिक्रिया