देवदह र रामग्राम बाट लुम्बिनी सम्म बिजुली बस सञ्चालन हुँदै

लुम्बिनी । लुम्बिनी विकास कोषले देवदह बाट बुद्ध जन्म स्थल लुम्बिनी सम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गते देखि सञ्चालन शुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ ।

बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरूको सेवालाई मध्यनजर गरी सोमबार देखि देवदह र रामग्राम बाट सञ्चालन गरिने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले बताए । देवदह शीतलनगर बाट मणिग्राम, भैरहवा बेलहिया विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनी सम्म सिधा बिजुली बस सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । 

कोषाध्यक्ष भट्टराईका अनुसार साताको तीन दिन देवदह र तीन दिन बुद्धको अस्तुधातुस्थित रामग्राम बाट बिजुली बस सञ्चालन गर्नेगरी नयाँ रुट बनाइएको हो । उनले कोषले बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिनेगरी बिजुली बस सञ्चालनमा ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर निःशुल्क सेवा प्रदान गरिँदै आइएको जानकारी दिए । 

धार्मिक क्षेत्रका स्थानीय पालिका, सामुदायिक सङ्गठन र सङ्घसंस्था सँग सहकार्य र समन्वय गरी कोषको समयसापेक्ष नीतिसहित स्थानीय सँग लुम्बिनी कार्यक्रम अवधारणालाई व्यवहार ल्याउने उनले प्रतिबद्धता जनाए । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटा मध्ये दुई बस धम्म यात्रा लेखेर परीक्षण स्वरुप सञ्चालन गरिएको छ ।
रासस 
 

प्रतिक्रिया