कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताएका  छन् ।  

भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारले आज वीरेन्द्रनगरमा २७औँं भूकम्प सुरक्षा दिवस–२०८१ आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विभिन्न तथ्याङ्कले कर्णाली प्रदेश भूकम्पीय उच्च जोखिममा रहेको बताएका हुन् ।“विपद् प्रतिकार्यको तयारीमा सरकार निरन्तर लागि परेको छ,” उनले भने, “यसबाट जोगिन हरेक सरोकारवालाको जिम्मेवारी उत्तिकै छ ।

”जाजरकोट भूकम्पका प्रभावितको पुनःनिर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ५० करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए । मुख्यमन्त्री कँडेलले विकास साझेदारहरु एक्लाएक्लै हिँड्न रमाउने गरेको टिप्पणी गर्दै सरकारसँगै हिँड्न सुझाएका थिए । सो कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले कर्णाली भूकम्पको उच्च जोखिममा भएकाले सधैँ सतर्क रहनुपर्ने बताए । 
 

प्रतिक्रिया