सकियो रवि लामिछानेको बहस, आजै आदेश आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो ।

लामिछानेको तर्फका वकिलले बहस सकेपछि सरकारी वकिलले जवाफी बहस गरेका थिए । सरकारी वकिलहरूको जवाफी बहसपछि अन्तिममा रविले संक्षिप्त भनाइ राखेका थिए ।

त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाई सकिएको भन्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका छन् । न्यायाधीशले लामिछानेलाई कारागार पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि बाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश गर्नेछन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा भएको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएको छ । सोही मुद्दालाई सघाउन गत आइतबार सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

स्वर्णलक्ष्मी सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरिएको आरोप छ । रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने कास्की प्रहरीकोे हिरासतबाट ८४ दिनपछि रिहा भएका हुन् ।

प्रतिक्रिया