साउनको चौथो सोमबार: देशभरका शिवालयहरुमा भक्तजनको भीड

साउनको चौथो सोमबार आज बिहानैदेखि पशुपति लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्रमा हजारौं भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन । पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि उत्तिकै भीड छ । बोलबम यात्री शुद्ध जल लिने आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा  छ । यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । जसका कारण शिवालयमा भक्तजनको संख्या केही घटेको छ । पशुपति क्षेत्रमा समग्रमा दर्शनार्थीको सङ्ख्या नघटे पनि सोमबारको व्रत बस्ने महिलाको संख्या भने कम देखिएको छ । यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेका छन् । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् ।  प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिएको हो । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया