नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएकी छन् । 

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको ४४औँ विश्व खाद्य दिवस कार्यक्रममा गैँडाकोट–१८ की कृषक रेग्मी पुरस्कृत भएकी हुन् ।

रेग्मीलाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले फलफूल बगैँचा (सुन्तला जात) व्यवसाय तर्फ राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा १० हजार सहित सम्मानपत्र द्वारा पुरस्कृत गरेका हु्न् । 

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ तारिखमा विश्व खाद्य दिवस मनाउने गरिएकामा त्यस दिन दशैं परेका कारण सोमबार नै मनाइएको विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले बताए । 

सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्रसंघको २०औँ साधारणसभाले संगठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरुप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिएको हो । 

उत्कृष्ट कृषकका रुपमा सम्मानित रेग्मीले गैँडाकोट–१८ को बसेनीमा लिफ्टिङ सिँचाइ बाट फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । उनले सात वर्ष अगाडि देखि करिब दुई करोड भन्दा बढीको लगानीमा ‘टीकारत्न टुल्कीदेवी कृषि फर्म’ मार्फत सुन्तला जातको फलफूल खेती गर्दै आएका छन् । 

प्रतिक्रिया