बेलायत : बेलायतको लण्डनमा सर्वसाधारणलाई अन्धाधुन्ध चक्कु प्रहार गर्ने एक ब्यक्तिको प्रहरी कारवाहीमा मृत्यु भएको छ । सुदेश अम्मान नाम गरेका २० वर्षीय ब्यक्तिको प्रहरीको गोली लागेर मृत्यु भएको हो । उनले थेम्स नदी किनारमा तीन जनालाई चक्कु प्रहार गरेर घाइते बनाएपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको हो । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।
शुरुमा उनले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरेका थिए । त्यसपछि अम्मानले बाहिर निस्किएर एक महिलालाई पनि आक्रमण गरेको प्रहरीले जनाएको छ । अम्मान एक साताअघि मात्र आधा सजाय भोगेर कारागारबाट छुटेका थिए ।
आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाईएको थियो । प्रहरीले घटनालाई आतङ्कवादी आक्रमण भनेको छ । आक्रमणपछि प्रधानमन्त्री बोरिस जोनसनले आतङ्कवादसम्बन्धी मुद्दामा सजाय खेपिरहेका व्यक्तिहरूसँग गरिने व्यवहारबारे सोमवार सरकारले नयाँ योजना सार्वजनिक गर्ने बताएका छन् ।
त्यसमा लामो जेल सजाय र प्रहरीलाई थप बजेट विनियोजन गर्ने विषयपनि हुने बताइएको छ । प्रधानमन्त्री जोनसनले तत्काल कारबाही गरेको भन्दै प्रहरीको बहादुरीको प्रशंसा गरेका छन् । नोभेम्बरमा पनि लन्डन ब्रिजनजिकै आतङ्कवादको घटनामा दोषी ठहर भएका एक व्यक्तिले चक्कु प्रहार गर्दा दुई जनाको मृत्यु भएको थियो ।