काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिने बताएका छन् । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव नभएको भन्दै यसबारे क्रातिकारी निर्णयमा पुग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम आयोगले पनि कार्यसम्पादन गर्नुपर्ने बताए । छलफलका त्रलममा प्रधानमन्त्री दाहालले भने भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक रहेकोमा पनि जोड दिएका छन । पटक–पटक उही समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भूमरीमा पर्नुनहुने र वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्ने पनि प्रधानमन्त्री दाहालले बताएका छन । भेटमा प्रधानमन्त्री दाहालले सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन निर्देशन दिए । उनले धेरै वर्षदेखि एउटै समस्यामा अल्झिरहेकाले अब यसलाई सदाका लागि समाधान गर्नुपर्ने बताए । गाँस र बास जनताको पहिलो आवश्यकता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसलाई गम्भीरताका साथ बुझेर काम गर्न निर्देशन दिए । उनले बजेटको सिलिङ बढाउन पहल भइरहेको जानकारी दिँदै अर्थतन्त्र संकटमुक्त भइनसके पनि पैसा छैन भन्दैमा काम गर्न र पहल लिन छोड्न नहुने बताए । अझ धेरै मेहेनत गरेर अर्थतन्त्र सुधार्ने र विकासलाई तीव्रता दिनेगरी काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कालगायत आयोगका पदाधिकारीको उपस्थिति थियो ।।
भूमीसम्वन्धी व्यवस्थामा क्रान्तिकारी निर्णय लिने प्रधानमन्त्री दाहालको भनाइ, भूमिहीनका समस्या दिर्घकालिन रुपमा समाधान गर्न भूमी आयोगलाई निर्देशन
