काठमाडौं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने आश्वासन दिएका छन् ।
प्रतिपक्ष दल नेकपा एमालेले सो महाभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेका बेला उनले बजेट पारित गराउने पहिलो दायित्व भएकाले संसदमा सो महाभियोग प्रस्तावबारे छलफल गराउने काममा केही ढिलाई हुन गएको बताएका हुन् ।
मन्त्री कोइरालाले सो महाभियोग प्रस्ताव संसदमा छलफल गराउनका लागि संघीय संसदको कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको जानकारी समेत दिए ।
मन्त्री कोइरालाले महाभियोग प्रस्तावमा प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएका आरोपहरु के–के हुन ? भन्ने बारे व्यापक छलफल हुने पनि बताए ।
प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलमा आवद्ध ९८ जना सांसदहरुले गत फागुन एक गते संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए । सोसँगै प्रधानन्यायाधीश जबरा निलम्बित भएका थिए ।