ADVERTISING

Breaking News

अभिमुखीकरण कार्यक्रममा काठमाडौंको आलोचना हुँदा बिचमै हिँडे बालेन शाह

काठमाडौंँ । काठमाडौंँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बागमती प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको दुई दिने स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम बीचमै छाडेर हिँडेका छन् । उनीसँगै उपमेयर सुनिता डंगोल पनि बीचमै कार्यक्रम छाडेर काठमाडौं फर्किएकी छिन् । उक्त कार्यक्रममा सहभागीहरूबाट काठमाडौं महानगरपालिकाको आलोचना भएपछि उनीहरु काठमाडौं फर्किएका हुन् । कार्यक्रम मंगलबारसम्म चल्ने तय भएपनि उनीहरु सोमबार नै काठमाडौं फर्किसकेका छन् ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले काठमाडौं महानगरको आलोचना गरेका थिए । मन्त्री जम्मकट्टेलले काठमाडौंको फोहोरका कारण धादिङ र नुवाकोटका जनतालाई असर परेका भन्दै काठमाडौं महानगरपालिकाको आलोचना गरेका थिए ।

स्थानीय तह संचालन, योजना तथा कार्यन्वयनको समग्र प्रक्रियाका बारेमा नवनिर्वाचित जनप्रतिनिधिका लागि बागमती प्रदेश सरकारले आयोजना गरेको २ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश सरकारका मन्त्रीहरु, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, १३ जिल्लाका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरू पनि सहभागि थिए ।

कार्यक्रम १३ जिल्लाका प्रमुख र उपप्रमुखहरु सहभागी थिए । प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद निरौलाको अध्यक्षता तथा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको

कार्यक्रमको उद्घाटन सत्रमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले मन्तव्य राखेका थिए । उद्घाटन सत्रमा मन्त्री जम्मकट्टेल मन्तव्य राख्दै नदीजन्य पदार्थ उत्खनन् गरेर खाला नाला मास्न नहुने भन्दै त्यसतर्फ स्थानीय तहको ध्यान पुग्नुपर्ने बताए । उनी सोही क्रममा काठमाडौं महानगरपालिकाको फोहोरको विषयमा केन्द्रीत भए । उनले काठमाडौंको फोहोरको कारण धादिङ र नुवाकोटका जनतालाई पिडा दिन नहुने भन्दै आफ्नै पालिकामा व्यवस्थापन गर्न सुझाव दिए ।

‘म २०६३ को अन्तरिम व्यवस्थापिका देखि पहिलो संविधानसभामा धादिङबाटै निर्वाचित भएर आएसम्म काठमाडौंको फोहोर व्यवस्थापनमा लागेँ । अझैपनि लागि नै रहेको छु ।’ उनले भने, ‘यस विषयमा मेरो सुझाव जोडदार ढंगबाट राख्न चाहन्छु । अहिले पनि म धादिङकै जनप्रतिनिधि । धादिङको संघीय निर्वाचन क्षेत्र नम्बर १ मेरै निर्वाचन क्षेत्र हो । म र हालका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे त्यहीबाट निर्वाचित भएर आएका हौं । धादिङको धुनिवेशीको १ नम्बर वडा र त्योसँगै जोडिएको नुवाकोट पनि छ । काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन ।’
उनले उपयुक्त विधिबाट काठमाडौंले आफ्नै क्षेत्रमा फोहोरको व्यवस्थापन गर्नुपर्ने बताए । एक पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नमिल्लने भएकाले काठमाडौंले बञ्चरेडाँडामा फोहोर फाल्न नपाउने उनले बताए । ‘त्यो फोहोर अब तपाईहरुले अब त्यहाँ लान पानुहुन्न । तपाईहरुले अब आफैले व्यवस्थापन गर्ने हो । त्यो हाम्रो कानुनमा पनि छ । एउटा पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न पाउँदैन । एउटा पालिकाले गरेको कामले अरु कुनै पालिकाको नागरिकलाई असर पार्ने काम गर्न हुँदैन,’ उनले भने, ‘त्यसैले अब तपाईहरुले वडाबाट सुरु गर्नुस् । वडाको मुख्य कामको रुपमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्न लगाउनुस् । कुहिने फोहोरबाट मल बनाउनुस् । नकुहिने फोहोर आफ्नै क्षेत्रमा व्यवस्थापन गर्ने काम गर्नुस् । सोही अनुसारको प्रविधि ल्याउनुस् ।’
जमकट्टेलले काठमाडौं महानगरपालिकाबारे टिप्पणी गरेपछि बालेन्द्र असन्तुष्ट बन्दै सोमबार नै काठमाडौं फर्किएको बताइएको छ । उनले सोमबार राति नै सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरको आलोचना गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए, ‘धन्यवाद !’
आफूलाई व्यक्तिगतरुपमा आलोचना वा गाली गर्न सकिएपनि काठमाडौंसँग र काठमाडौंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गरिएको भन्दै उनको असन्तुष्टि छ । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ–कार्यक्रममा बस्ने औचित्य नदेखेर आफूले कार्यक्रम छाडेर हिँडेको उनले सार्वजनिक स्पष्टोक्ति दिएका छन् । उनले गाली र आलोचना नै सुन्ने भए सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरुमा सुन्ने पनि उनको भनाइ छ ।

leave a reply