काठमाडौ । स्थानीय तह निर्वाचन अन्तर्गत छ महानगरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सबै महानगर गुमाएको छ । देशभरका पालिकाको नतिजामा एमाले दोस्रो हुँदा ६ महानगरपालिका गुमाउँदै शून्य भएको हो । ६ महानगरमध्ये विराटनगर र ललितपुर महानगर गठबन्धनबाट नेपाली कांग्रेसले जित्यो भने भरतपुर महानगरमा गठबन्धनबाट माओवादी केन्द्रले जित्यो । यस्तै पोखरा महानगर सत्ता गठबन्धनबाटै नेकपा एकीकृत समाजवादीका धनराज आचार्य, वीरगन्जमा गठबन्धनबाटै जसपाका उम्मेदवार राजेशमान सिंह विजयी हुँदा काठमाडौं महानगरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले विजयी भए । भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल विजयी भइन् । विराटनगरमा कांग्रेसका नागेश कोइराला र ललितपुरमा कांग्रेसकै चिरीबाबु महर्जन विजयी भए । यसअघि एमालेको जितेको काठमाडौंमा अहिले भने तेश्रो बन्यो भने गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंह दोश्रो बनिन् । २०७४ को निर्वाचनमा कांग्रेस–एमालेले समान दुई–दुई महानगर जितेका थिए भने माओवादी र जसपाले समान एक–एक मा जित हासिल गरेका थिए । छ महानगरमध्ये विराटनगर र ललितपुर महानगर नेपाली कांग्रेसले यसपटक पनि आफ्नो पोल्टामा पार्यो । यसअघि एमालेले जितेको पोखरामा यसपालि नेकपा एकीकृत समाजवादीले जितेको छ । नेकपा एमालेले काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकाको उपप्रमुख भने जितेको छ । काठमाडौंमा सुनिता डंगोल, ललितपुर उपप्रमुखमा मञ्जली शाक्य, पोखरामा मञ्जुदेवी गुरूङ, विराटनगरमा शिल्पा कार्की विजयी भएका हुन । भरतपुरका कांग्रेसका चित्रसेन अधिकारी र वीरगन्जमा कांग्रेसकै इम्तियाज आलम विजयी भएका छन ।
६ महानगरमध्ये कांग्रेस दुई, जसपा, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रलाई एक–एक ठाँउमा नेतृत्व
