ADVERTISING

Breaking News

राप्रपा महाधिवेशनमा हिन्दू राष्ट्र र राजसंस्थाको वकालत ! राप्रपा नेताहरुले के भने

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आगामी नेतृत्व र कार्यदिशालाई लिएर विशेष चासोका साथ हेरिएको छ । भृकुटीमण्डपमा सुरु भएको एकता महाधिवेशनमा राप्रपाका शीर्ष नेताहरुले राजा र जनताको एकताबाट मात्र राष्ट्रियता बलियो हुने दावी गरेका छन् ।

राप्रपा एकता महाधिवेशनको उद्घाटन समारोहमा शीर्ष नेताहरुले मुलुकमा उत्पन्न अस्थिरताको अन्त्यका लागि राजसंस्थाको आवश्यकता जरुरी रहेको औंल्याएका छन् । राप्रपाका अध्यक्ष कमल थापाले वीपी कोइरालाको मेलमिलापको नीतिको आवश्यकता बढेको भन्दै राजा र जनताको एकता विना राष्ट्रको अस्तित्व नरहने बताए । उनले राजतन्त्रसँग नतर्सन लोकतान्त्रिक शक्तिहरुलाई आग्रहसमेत गरे ।
उद्घाटन शत्रमा राप्रपा नेता पशुपति शम्शेर राणाले राप्रपाको एकतालाई बलियो बनाउन सर्वसम्मतीबाट नेतृत्व चयन हुनुपर्ने बताए । उनले अन्तिम अवस्थासम्म सर्वसम्मत नेतृत्वको लागि सोच्न आह्वान गरे ।
राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनीले राजा र हिन्दु धर्म जनता र भूगोललाई जोड्ने शक्ति भएकाले राष्ट्रिय एकिकरणको आवश्यकता रहेकोमा जोड दिए ।
राप्रपा नेता लोकन्द्रबहादुर चन्दले मुलुकको वैकल्पिक शक्ति बन्न राप्रपा एकताबद्ध भएर जानुपर्ने बताए ।
अध्यक्षका प्रत्यासी राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनमत बलियो रहे पनि यसलाई अघि बढाउन पुरानो नेतृत्व असफल भएको भन्दै आफूले अध्यक्षको उम्मेद्वारी घोषणा गरेको बताए ।
कार्यक्रममा राप्रपा नेता लोकन्द्रबहादुर चन्द लगायतका नेताहरुले सम्बोधन गरेका थिए । काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा देशभरिबाट करिब चार हजार दुई सय महाधिवेशन प्रतिनिधि सहभागी छन् । महाधिवेशनबाट पदाधिकारीसहित एक सय ४९ जना नयाँ नेतृत्व निर्वाचित हुनेछन् ।

leave a reply