चीन जोड्ने कोदारी राजमार्ग पुनः सञ्चालनमा आएपछि तातोपानी भन्सार कार्यालयको राजस्व सङ्कलन बढेको छ । भोटेकोसी गाउँपालिकाको कोदारी र तातोपानीबीचको सडक वर्षाका कारण भासिदा तीन महिना देखि यातायात आवागमन ठप्प थियो । तर अहिले सडक मर्मत भई सञ्चालनमा आएपछि भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।
सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि सडक आवागमन ठप्प बनेको थियो । सडकको पुनर्निर्माण भई भदौ २० गतेदेखि पूर्णरुपमा सञ्चालनमा आउँदा भन्सार कार्यालयको राजस्वमा बृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यो अवधिमा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको छ ।
भन्सार कार्यालयले भदौ महिनामा ११ करोड ९३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १२ करोड ८१ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । नाकाबाट फलफूल, मेडिकल उपकरण, तयारी सामग्री, औद्योगिक कच्चा पदार्थ, मेशिनरी सामान लिएर दैनिक १५ वटा कन्टेनर नेपाल भित्रिएका छन् । सडक विग्रिदा ढुवानीमा समस्या भएको र अहिले सडक बनेकाले दशैंको लागि सामान ल्याउन सहज भएको व्यापारीहरुले बताएका छन् ।
असार १ गते भोटेकोसीमा आएको बाढीले कोदारी राजमार्गको सडक र पुलमा क्षति पुगेको थियो । सडक डिभिजन कार्यालय चरिकोटले करिब १ करोड लागतमा सडक पुननिर्माण गराएपछि मालसामान ढुवानीमा सहज भएको हो ।