ADVERTISING

Breaking News

दाहाल-नेपाल समूहको आम हड्ताल : कहाँ के भयो ?

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव देशभर परेको छ । बन्दका क्रममा छिटफुट रुपमा मोटरसाइकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् ।

No description available.बिहीबार काठमाण्डौ, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्राय बनेका छन् । चारपाङग्रे सवारी साधन भन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन् । खाद्यान्न लगायतका बजार पसल आंशिक खुले । बन्द आह्वानकर्ताहरुले बिहानै देखि चोक–चोकमा प्रदर्शन गरेका थिए ।

बन्द सफल पार्न उपत्यकामा भन्दै शीर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । देशव्यापी आमहड्ताल आह्वान गरेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुत्चोक पुगेका थिए ।

गाडीबाट ओर्लिएर दाहाल पुल्चोकको बीचसडकमा केही समय पलेटी कसेर बसेर प्रदर्शनमा सहभागी भए । गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका हुन् । उनीसँगै नेतृ पम्फा भुसाल लगायतका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागी भएका थिए ।

बिहीबार विहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताहरुले विभिन्न स्थानबाट जुलुस सहित प्रदर्शन गरेका थिए ।

चाबहील चोकबाट बिहान प्रहरीले कृष्ण केसी लगायतका नेता कार्यकर्ताहरु नियन्त्रणमा लिएको छ । जर्वजस्ती बन्द गराउने खोज्ने एक सय भन्दा बढीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हामहड्ताल सफल बनाउन दाहाल-नेपाल समूहले काठमाडौंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिइएको थियो ।

सामाखुशीमा ट्याक्सीमा आगजनी

सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ ।

सुनसान पोखरा

No description available.गण्डकी प्रदेशको राजधानी पोखरामा पनि आम हड्तालको आंशिक प्रभाव परेको छ । आम हड्तालका कारण विहानैदेखि सुनसान देखिएको पोखराको सडकमा बन्दको विरोध गर्दै यूवाहरुले निकालेको मोटरसाईकल र्‍यालीपछि फाट्टफुट्ट सवारीसाधन चलेका छन् ।

हड्तालका कारण पर्यटकीय नगरी पोखराको लेकसाईड, पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योग कल कारखाना, व्यापारिक प्रतिष्ठानहरु, लामो तथा छोटो दुरीका सवारीसाधन, शैक्षिक संस्था भने खुलेका छैनन् । पोखराका मुख्य चोकहरु पृथ्वीचोक, महेन्द्रपुल, सिर्जनाचोक, अमरसिंहचोक, मुस्ताङचोक लगायतका स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ ।

धरानमा झडप

No description available.आम हड्तालका क्रममा सुनसरीको धरानमा झडप भएको छ । भानुचौकमा बन्दकर्ताले ट्याम्पो चालकलाई दुव्र्यवहार गरेको भन्दै यातायात व्यवसायी बन्दको विरोधमा उत्रेका हुन् । सो क्रममा बन्दकर्ता र यातायात मजदुरविच झडप भएको प्रहरीले जनाएको छ ।

चोकमा टायर बाल्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ । बन्दका कारण धरानको जनजीवन विहानैदेखि प्रभावित भएको छ । बन्दकर्ता मुख्य चोकमा बसेर प्रदर्शन गरिरहेका छन । लामा तथा छोटा दूरीका कुनै पनि सवारीसाधनपनि चलेका छैनन् ।

ठप्प दाङ

आम हड्तालको प्रभाव दाङ र आसपासका जिल्लामा परेको छ । दाङमा अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन् । बस समितिका सबै काउन्टर बन्द छन् ।

जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही पनि बन्द नै छन् । आमहड्तालको पूर्व सन्ध्यामा दाहाल नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस पर्दशन गर्दै कडा बन्दको चेतावनी दिएकाले सर्वसाधारणमा त्रास फैलिएको छ ।

वीरगञ्जमा प्रदर्शनकारी पक्राउ

आम हड्तालका कारण वीरगञ्जमा पनि सामान्य प्रभाव परेको छ । वीरग१्जमा पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन सडकमा निस्किएका  दाहाल-नेपाल समूहका नेता-कार्यकर्ता पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महोत्तरीमा आम हड्तालको प्रभाव

No description available.आम हड्तालका कारण महोत्तरीको जनजीवन पनि प्रभावित भएको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग विधापति राजमार्ग तथा बीपी राजमार्गमा सवारी साधन चलेका छैन भने जिल्लाका सम्पूर्ण बजार र शैक्षिक संस्था बन्द रहेका छन् ।

बन्दकर्ताले महोतरीका मुख्य बजार चोकहरुका सरकार विरुद्ध प्रदर्शन जारी राखेका छन् । महोत्तरीको बर्दिवास रामगोपालपुर गौशाला सम्सी जलेश्वर र पिपरा लगायतका क्षेत्रमा दाहाल-नेपाल समूहका नेता–कार्यकर्ता भेला भएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

बन्दका क्रममा अप्रिय घटना नहोस् भनेर पूर्वपश्चिम राजमार्ग अन्य सहायक लोकमार्ग शहरी तथा ग्रामीण क्षेत्रका थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अर्घाखाँची पनि ठप्प

आमहड्तालका कारण अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन पनि चलेका छैनन् ।

सदरमुकाम सन्धिखर्क चुत्राबेसि लगायतका बजार क्षेत्र र ग्रामीण भेगका बजारहरु समेत बन्द रहेका छन् । शैक्षिक संस्था, कलकारखाना पनि खुलेका छैनन् । बन्दकर्ताले सदरमुकाम सन्धिखर्क चुत्रावेसीमा खोलिएका केही पसल, सवारी साधन जर्वजस्ती बन्द गराएका छन् ।

धनगढीमा आम हड्तालको असर

हड्तालका कारण सुदूरपश्चिमको मुख्य शहर धनगढीको जनजीवन पनि प्रभावित भएको छ । अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन चलेका छैनन् । बजार व्यवसाय समेत ठप्प छ । दु

ई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल भने छिटफुट रुपमा चलेका छन् । पसलहरु पनि खुलेका छैनन् । कैलाली प्रहरीका अनुसार हड्तालका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा सतकर्ता बढाइएको छ ।

बागलुङमा प्रदर्शन

No description available.आम हड्तालका कारण बागलुङको जनजीवनपनि प्रभावित भएको छ । बन्दकर्ताहरु बाग्लुङ बजारका मुख्य चोकमा निस्केर प्रदर्शन जारी राखेका छन् ।

बन्दको कारण सवारीसाधान, विद्यालय,पसल व्यवसाय ठप्प छन् । विहान खुलेका केही पसल समेत प्रदर्शनकारीले बन्द गराएका छन् । बन्दको बेला अप्रिय घटना हुन नदिन थप प्रहरी परिचालन गरिएको छ ।

डडलेधुरामा सामान्य प्रभाव

डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ । जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमहडतालसहित दाहाल-नेपाल समूहले बुधबार नै बन्द घोषणा गरे पनि सुरक्षा हाइअलर्ट राखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

बिहानैदेखि प्रहरीको स्कटिङमा यातायात सेवा सञ्चालन गरिएको छ । लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताए ।

leave a reply