हावाबाट बिजुली बल्ने उपकरण प्रयोगविहीन

स्पेनी नागरिक राफेल पिच र एनआरएनका पूर्वसल्लाहकार पुष्पराज तिमिल्सिनाको लगानीमा २०७४ साउन २८ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा वायु तथा सौर्य ऊर्जा उपकरणको सफल परीक्षण गरिएको थियो। वायु तथा सौर्य ऊर्जा उपकरणमा मौसमको जानकारी दिने सिस्टमसमेत जडान गरिएको थियो। 

उपकरणको परीक्षणपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङ आउँदा एक समारोहबीच वायु तथा सौर्य उर्जा उपकरण प्रणालीको उद्घाटन गरेका थिए। तर, उक्त उपकरणमा ४ वर्षपछि प्राविधिक समस्या आउँदा कामविहीन बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए।  

त्यस समय स्पेनी प्राविधिक टोली मुस्ताङ आएर जिल्ला प्रहरी कार्यालयमा वायु तथा सौर्य ऊर्जा उपकरण जडान गरेका थिए। हावाबाट बिजुली बाल्न आवश्यक सोलार प्यानल र बेट्री ब्याकप राखिएको थियो। दिउँसो घाम लाग्दा सौर्य ऊर्जाको सहायताबाट बेट्री चार्ज गर्ने र घाम नलाग्दा र रातको समयमा हावाको सहायताले वायु पंखाको माध्यमबाट बेट्री चार्ज गर्ने सिस्टम जडान गरिएको थियो। 

वायु पंखाबाट वायु ऊर्जा संकलन गर्न प्रहरी कार्यालयमा दुईवटा टावरसमेत जडान गरिएको थियो। तर, ऊर्जा उपकरणले काम गर्न छोडेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए। ‘हावाबाट बल्ने बिजुलीले काम गर्न छाड्यो। हामीले यसका प्रतिनिधि पुष्पराज तिमिल्सिनालाई सम्पर्क गरेका थियौं,’ प्रहरी नायब उपरीक्षक पौडेलले भने, ‘यहाँका प्राविधिकले मर्मत गर्न सक्दैनन् भन्ने कुरा आयो। हामीले स्थानीय प्राविधिकलाई पनि बोलायौं। तर, उनीहरूले पनि सकेनन्।’

हावाबाट बिजुली बल्ने उपकरण हावाले पंखा घुम्दा विद्युत् उत्पादन हुन्छ। त्यही विद्युत्ले बेट्रीको ब्याकपमा विद्युत् भण्डारण गर्छ। तर, अहिले विद्युत् नियमित भएको बेलाबाहेक अन्य बेलासमेत वायु तथा सौर्य ऊर्जा उपकरणले कुनै काम गर्दैन। बुद्ध पावर कम्पनीका प्रबन्ध निर्देशक एवं एनआरएनका पूर्वसल्लाहाकार तिमिल्सिनाले हावाबाट बिजुली बल्ने उपकरण मर्मत गर्न स्पेनिस प्राविधिक नै 
चाहिने बताए। 

‘हामीले मुस्ताङमा हावाबाट बिजुली बाल्ने उपकरण जडान गर्दा सरकारसँग नेपाली प्राविधिकलाई पनि यो काम सिकाऔं भनेका थियौं,’ उनले भने, ‘तर, त्यसबेला सरकारले चासो दिएन। त्यस समय उपकरण मर्मतसम्बन्धी तालिम नदिँदा यो समस्या आयो।’ 
उनले मुस्ताङमा प्रहरी कार्यालयमा जडान गरिएको हावाबाट बिजुली बल्ने उपकरण जडान गर्न स्पेनिस टोलीलाई खबर गरिसकेको र उनीहरू चाँडै नेपाल आएर मर्मत गर्ने बताए। मुस्ताङमा उपकरण जडान गर्ने बेला १० वर्षमा ४० मेगावाट हावाबाट बिजुली बाल्न सकिने स्पेनिस टोलीले बताएका थिए। यसका लागि ७ खर्ब बजेट खर्च हुने अनुमान गरिएको थियो।

त्यसो त जिल्ला प्रहरी कार्यालयमा जडान गर्नुअघि २०४४ सालमा पनि हावाबाट बिजुली उत्पादन गर्ने प्रयास गरिएको थियो। तर, पर्याप्त भौगोलिक अध्ययनबिना जडान गरिएको उपकरण १ महिनामै फेल भएको थियो। यस्तै, २०७६ असार ५ गते उपल्लो मुस्ताङको चुमजुङमा वायु तथा सौर्य ऊर्जा जडान गरिएको थियो। 

ऊर्जा, वातावरण अनुसन्धान तथा विकास केन्द्र र जन ऊर्जा तथा वातावरण विकास संघको संयुक्त पहलमा उक्त सौर्य तथा वायुबाट चल्ने हाइब्रिट ऊर्जा परियोजना सम्पन्न भएको थियो। परियोजनाका लागि फिनिस संस्था सेमेनपु फाउन्डेसन फिनल्यान्ड र इकोइनर्जी कम्पनीले आर्थिक सहयोग गरेका थिए। त्यहाँ ३ किलोवाट सौर्य ऊर्जा र १ किलोवाट वायु ऊर्जा विद्युत् हुने व्यवस्था मिलाइएको थियो।

प्रतिक्रिया