भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको मतदान

काठमाडौं । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान जारी छ । संघीय संसदको तल्लो सदनका लागि आज १२ राज्य र केन्द्रशासित एक प्रदेश गरी कुल ८९ सिटका लागि चुनाव भैरहेको हो । आज चुनाव हुने ८९ सिटमध्ये अघिल्लो निर्वाचनमा भारतीय जनता पार्टीले ५५ र कंग्रेसले १८ सिट जितेका थिए ।  आजको चुनावमा एक हजार दुई सय १० उम्मेदवार चुनावी मैदानमा छन् । आजको चुनावमा कंग्रेस नेता राहुल गान्धी उम्मेद्वार बनेको केरलाको वायनाड निर्वाचन क्षेत्रमा मतदान हुनेछ । केरलका सबै २० सिटका लागि आज मतदान हुनेछ । यसैगरी कर्नाटकका २८ मध्ये १४ सिट, राजस्थानका १३, महाराष्ट्र र उत्तर प्रदेशका आठ–आठ, मध्यप्रदेशका सात, असम र बिहारका पाँच–पाँच, छत्तिसगढ र पश्चिम बंगालका तीन–तीन सिटका लागि मतदान जारी छ । यस्तै मणिपुर, त्रिपुरा र जम्मु कश्मीरका एक(एक सिटका लागि पनि भोलि नै मतदान हुनेछ । नेपाली भाषीहरुको बाहुल्य रहेको दार्जिलिङमा पनि मतदान हुनेछ । आज हुने मतदानले राहुल गान्धीसँगै कंग्रेस नेता शशि थरुर, लोकसभाका सभामुख ओम बिडला, चर्चित टीभी सिरियल रामायणका ‘राम’, अरुण गोबिलका साथै अभिनेत्री हेमा मालिनी लगायतको भाग्य निर्धारण गर्नेछ । अरुण गोबिल र हेमामालिनी भाजपाबाट उम्मेद्वार बनेका हुन् । पहिलो चरण अन्तर्गत अघिल्लो शुक्रबार २१ राज्य र केन्द्रशासित प्रदेशका एक सय दुई सिटका लागि मतदान भइसकेको छ । सात चरणमा हुने निर्वाचन जुन एकमा सकिनेछ । जुन ४ देखि एकैसाथ सबै क्षेत्रको मतगणना गरिने भारतको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया