वसन्त याममा हिमाल आरोहण गर्न ५७ देशका नागरिकले लिए अनुमति

वसन्त याममा हिमाल आरोहण गर्न नेपालसहित ५७ देशका नागरिकले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न २६ हिमाल आरोहणका लागि ५७ देशका ७६७ जना आरोहीले आरोहण अनुमति लिएका हुन् । आरोहणतर्फ अनुमति लिनेमा ८६ समूहका १६३ महिला र ६०४ जना पुरुष रहेका छन् । अनुमति लिएका मध्ये सबैभन्दा बढी अमेरिका र चीनबाट रहेका छन् । आरोहणका लागि सबैभन्दा बढी अमेरिकाबाट ६६ जना, चीनबाट ६४, बेलायतबाट ३०, भारतबाट २२, जापानबाट १९ र रसियाबाट १७ जना रहेको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा बढी सगरमाथा आरोहण गर्न हालसम्म ३ सय ६४ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ३४ समूहका ६८ महिला र २९६ पुरुष रहेका छन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै ४ सय ७८ ले अनुमति लिएका थिए । ।सगरमाथा आरोहण शुल्कबापत मात्रै सरकारलाई ५२ करोड ३२ लाख ६० हजार ९९९ रुपियाँ हिमाली दस्तुर राजस्व प्राप्त भएको छ । त्यस्तै २६ वटै हिमालमा दिएको अनुमतिबापत ५८ करोड २४ लाख ७९ हजार ८३० रुपियाँ राजस्व संकलन भएको छ ।    

प्रतिक्रिया