बाग्लुङको कालिका मन्दिरमा आज चैते दशैं मेला लाग्दै

काठमाडौं । बाग्लुङको कालिका मन्दिरमा आज चैते दशैं मेला लागेको छ । चैते दशैंका अबसरमा कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बाग्लुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन् । भक्तजनको घुइँचो बढेपछि बाग्लुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ ।
 मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । बाग्लुङ कालिकाको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदसैँमा हजारौँ भक्तजन पुग्ने गरेका छन । नवरात्र सुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन मन्दिरमा पुगिरहेका छन । मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । चैतेदसैँका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगितालगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया