जाजरकोट भुकम्पपीडितले अझै पाएनन् सरकारको राहत रकम

भुकम्प गएको झन्डै साढे चार महिना बितिसक्दा पनि जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनिएको रकम पाउन सकेका छैनन । पहिलो किस्ता पाएका कतिपयले पनि दोस्रो किस्ताको रकम पाउन सकेका छैनन। जाजरकोटमा ४२ हजार ५ सय २४ लाभग्राही कायम भएकोमा ३० हजार ७ सय २६ अस्थायी आवास मात्र निर्माण भएका छन। ९ हजार १ सय ४९ लाभग्राहीको विवरण मात्र वेब पोर्टलमा ‘इन्ट्री’ भएको छ। कतिपय स्थानीय तहमा विवरण नै संकलन हुन नसकेको र केहीमा विवरण ‘इन्ट्री’ गर्ने जनशक्ति नहुँदा समस्या भएको छ । गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी रुकुम पश्चिमका ३१ हजार ३ सय लाभग्राहीले घरबास गुमाएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा छ। जसमा २९ हजार ७ सय ६४ वटा अस्थायी आवास निर्माण भएका छन । सरकारले झन्डै २ महिनाअघि गठन गरेको ‘भूकम्पबाट क्षतिपछिको आवश्यकता आकलन कार्यदल’ले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाहरूमा स्थायी संरचना निर्माणमा ७३ अर्ब ७९ लाख र पुनर्निर्माणका लागि ४८ अर्ब २९ करोड ४९ लाख रुपैयाँ लाग्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ। 

प्रतिक्रिया