इलाम–२ मा उपचुनावको चहलपहल बढ्यो

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा आउँदो बैशाख १५ गते उपचुनावको लागि चहलपहल बढेको छ । कतिपयले स्वतन्त्रबाट पनि उम्मेदवारी घोषणा गरेका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेकाहरुले चुनावी प्रचार थालिसकेका छन् । अहिलेसम्म डकेन्द्रसिंह थेगिम, मिलन लिम्बू र अर्जुनविक्रम शाहीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । राजनीतिक दलबाट भने उम्मेदवारको टुंगो लाग्न बाँकी छ । नेपाली कांग्रेसले सात, नेकपा एमालेले छ र जनता समाजवादी पार्टीले तीनजना आकाङ्क्षीको नाम केन्द्रीय समितिमा सिफारिस गरी पठाएका छन् । कांग्रेसले महासमिति सदस्य भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, जिल्ला सभापति डम्बरबहादुर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, पूर्व जिल्ला उपसभापति शान्तिकला तामाङ (राई) र महासमिति सदस्य चन्द्रमाया लिम्बूको नाम केन्द्रमा सिफारिस गरी पठाएको छ । एमालेले स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित छ जनाको नाम यसअघि नै केन्द्रीय समितिमा पठाइसकेको छ । एमालेले नेम्वाङसहित उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डाक्टर देवीक्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय अध्यक्ष बुद्धिप्रसाद खनाल, नेता नरेन्द्रनाथ भट्टराई र पार्टी कोशी प्रदेश सदस्य रिपल राईको नाम सिफारिस गरेको हो । यस्तै जनता समाजवादी पार्टीले केन्द्रीय सल्लाहकार डाक्टर महेन्द्र लावती, केन्द्रीय सदस्य लोकसागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूको नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी चयनका लागि प्रारम्भिक चुनाव गरी उम्मेदवार छनोट गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपालगायत दलहरूले उम्मेदवार सिफारिस नै गरेका छैनन् । वि.सं २०७९ को चुनावमा यो क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपचुनाव हुन लागेको हो । उपचुनावका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । इलाममा २० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।

प्रतिक्रिया