ट्रम्पविरुद्ध सरकारी गोप्य कागजातको लापरबाहीमा मुद्दा दर्ता

donaldtrump

अमेरिकाका बहुचर्चित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सरकारी गोप्य कागजातको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ । आफनो निजी सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्प स्वयंले यसबारे जानकारी सार्वजनिक गरेका हुन । मियामीको संघीय अदालतमा उनलाई हाजिर हुन भनिएको जानकारी गराउँदै ट्रम्पले अमेरिकी पूर्वराष्ट्रपतिविरुद्ध यस्तो पनि सम्भव हुनसक्छ भन्नेबारे आफूले कहिल्यै नसोचेको उल्लेख गरेका छन । ट्रम्पले आफू निर्दोष भएको दाबी गरेका छन् । राष्ट्रपति पदबाट मुक्त भएपछि पनि सरकारी गोप्य कागजात आफ्नो निजी निवासमा लगेर राखेकाले ट्रम्प अनुसन्धानमा तानिएका हुन् । केही महिनाको अन्तरालमा ट्रम्पविरुद्ध दायर गरिएको यो दोस्रो मुद्दा हो । ट्रम्पको मार अलागोस्थित निवासमा सरकारी गोप्य कागजात फेला परेको विषयलाई लिएर उनीविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको र उनीमाथि सातवटा आरोप लगाइएको छ । ट्रम्पमाथि सरकारी गोप्य कागजात अनधिकृत रुपमा आफूसँग राखेको र न्याय प्रक्रियामा अवरोध पु¥याएकोलगायत आरोप लगाइएको जनाइएको छ । ट्रम्पविरुद्ध मुद्दा चलाइएको यो दोस्रोपटक हो भने कुनै पूर्वराष्ट्रपतिविरुद्ध संघीय सरकारले चलाइएको यो पहिलो मुद्दा हो । आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा होमिएका ट्रम्पका लागि यो अर्को झट्का मानिएको छ । ट्रम्पविरुद्ध गत अप्रिलमा एकजना पोर्न स्टारलाई आफूविरुद्ध मुख नखोल्न दिएको रकमबारे व्यावसायिक खातामा गलत ढंगले हिसाब मिलान गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया