प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि बंगलादेशमा हर्सोल्लास

काठमाडौं । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले देशको राजनीतिमा आफ्नो दुई दशकभन्दा बढी  प्रभुत्वको अन्त्य  गर्दै हप्तौं लामो सरकार विरोधी प्रदर्शनपछि राजीनामा दिएकी छन्।

७६ वर्षीया हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई देश छोडेर सोमबार भारत पुगेकी थिइन् । उनको राजीनामा पछि प्रदर्शनकारीहरुले खुशी मनाउन सडकमा उत्रिए थिए । केहीले प्रधानमन्त्रीको दरबारमा आक्रमण गरे,  उनको पूर्व निवासको केही भागहरू लुटपाट र तोडफोड गरे।


हसिनाको राजीनामाको केही घण्टा पछि, राष्ट्रपति मोहम्मद शहाबुद्दिनले  तत्काल अन्तरिम सरकार गठन हुने र संसद् विघटन हुने बताएका छन । गएराति विभिन्न देशका नेताहरुसँग छलफल पछि राष्ट्रपति शहाबुद्दीनले अन्तरिम सरकारले समयअगावै चुनाव गराउने प्रतिवद्धता जनाएका छन्  ।

 राजनीतिक नेताहरूसँगको छलफलपछि विभेदविरोधी आन्दोलनका पीडितको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ । सबै दल र सरोकारवालासँग परामर्श गरेर बनेको अन्तरिम सरकारले जतिसक्दो चाँडो निर्वाचनको व्यवस्था गर्ने राष्ट्रपतिको प्रतिवद्धता छ । विभिन्न झुटा मुद्दा र भेदभाव विरोधी विद्यार्थी आन्दोलनको क्रममा हिरासतमा रहेकासहित सबै बन्दीहरूलाई रिहा गरिने पनि राष्ट्रपतिले बताएका छन् । 

वद्यार्थी आन्दोलनका पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि सम्पूर्ण सहयोग उपलब्ध गराइने बताइएको छ । यस्तै विपक्षी दल बीएनपीकी अध्यक्ष खालिदा जियालाई रिहा गर्ने सर्वसम्मत निर्णय भएको छ । राष्ट्रपति शहाबुद्दीनले देशभरका सबै कार्यालय र अदालतहरू आजदेखि सामान्य रूपमा सञ्चालन हुने बताएका छन् । यता विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको खाका बनाएका छन् ।

विद्यार्थी आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले एक भिडियो सन्देश जारी गर्दै सो जानकारी दिएका हुन् । सेनालाई तोडफोड रोक्न र कानून कार्यान्वयन सुनिश्चित गर्ने जिम्मा दिइएको छ । प्रधानमन्त्री शेख हसिनाले सोमबार दिउँसो देश छोडेपछि  बंगलादेशको अवस्था गम्भीर रूपमा बिग्रिएको थियो ।


 

प्रतिक्रिया