लुम्बिनी र सुदुपश्चिमका तराईका जिल्लाहरुमा तातो हावाको लहर, स्वास्थ्य समस्या देखिनसक्ने भन्दै सतकर्ता अपनाउन आग्रह

काठमाडौ । केही दिनयता लुम्बिनी प्रदेश र सुदुपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा तातो हावाको लहर अर्थात ‘लू’ चलिरहेको छ । आज र भोलि पनि तातो हावाको लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ र कपिलवस्तुमा तातो हावाको लहर अर्थात ‘लू’ को जोखिम छ । ‘लू’ का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । लु बाट बच्न गर्मीको समयमा घर भित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी, जुस तथा सर्वत प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थयकर्मीसँग सल्लाह लिन विज्ञहरुले आग्रह गर्दै आएका छन् । केही दिनयता पश्चिम तराईका  विभिन्न ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन भएको छ । शुक्रबार नेपालगञ्जमा सबैभन्दा बढी अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन भएको छ । बिहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको थियो ।

प्रतिक्रिया