मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ : उपप्रधानमन्त्री लामिछाने

सरकारले मनसुन शुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने भएको छ । गृहमन्त्रालयमा आज मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दिनभित्र टास्क फोर्स बनाउने घोषणा गरेका हुन । मन्त्री लामिछानेले मनसुन शुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयार गर्नु आवश्यक रहेको बताए । 
मन्त्री लामिछानेले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभुति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताए । छलफलमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानून कागजमा राम्रो भएपनि व्यवहारमा लागू गर्न समस्या रहेको बताए । 
महानिरीक्षक कुँबरले विपद्मा तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरु मात्रै रहेको गुनासो समेत गरे । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल—भारतबीच समन्वय गर्न जरुरी रहेको बताए ।
महानिरीक्षक अर्यालले सिंचाई, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबीच समन्वय गरी कोशीमा तीन मिली क्युसेक  भन्दा माथि पानी पुगेपछि कोशीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको बताएका हुन । दुवै देशबीच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको उनको टिप्पणी थियो । प्रमुख जिल्ला अधिकारीहरुको कोषमा ६ अर्ब बढी पैसा भएको तर खर्च नभएको भन्दै तत्काल खर्च गर्ने मन्त्रालयले आदेश दिन माग समेत महानिर्देशक अर्यालको थियो ।
 

प्रतिक्रिया