तराई मधेशमा गर्मीसँगै तातो लहर बढ्ने क्रम जारी

देशका विभिन्न भूभागमा तातो हावाको लहर अझै करिब एक साता कायम रहने भन्दै स्वास्थ्यकर्मीले सतकर्ता अपनाउन आग्रह गरेका छन । एक सातायता बढेको तातो हावाको लहर अझै एक साता रहने भएकाले सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । पश्चिम र पूर्वी तराईका धेरै जिल्ला उच्च तापक्रम हुने भएकाले शरीर शिथिल हुने, रुघाखोकी लाग्ने, ज्वरो आउने, फ्लु लाग्ने, दम तथा मिर्गाैलाका समस्या बढ्नेलगायतका समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ । बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा श्वासप्रश्वास, मधुमेह, मिर्गौला, दम, मुटुका रोग तथा पक्षघात भएका व्यक्तिको विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउछन । शरीरमा नुन र पानीको मात्रा सन्तुलनमा राख्न दिउँसोको समयमा घरबाहिर हिँडडुल नगर्न र निस्कनै परे छाताको अनिवार्य प्रयोग गर्ने तथा रुखको छहारी र अन्य शीतल ठाउँमा बस्न चिकित्सको सुझाव छ । तातो हावाको लहर लु सँगै डढेलोको असरले नेपालमा तातो बढेको हो । लुम्बिनी प्रदेश र मधेश प्रदेशका जिल्लालाई तातो हावाको रेड जोनका रूपमा रेकर्ड गरिएको छ । लुम्बिनीको तिलोत्तमा, भैरहवा, लुम्बिनी, तौलिहवा, भगवानपुर, नेपालगन्जको सिक्टा, नेपालगन्ज बजार तथा मधेश प्रदेशको वीरगन्ज र रौतहटको गौरलगायतका जिल्लामा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम छ । त्यस्तै तराईकै मन्सुमारा क्षेत्र, जनकपुर तथा सुदूरपश्चिमका धेरै जिल्लामा ३९.८, ३९.६ तथा ३९ डिग्री सेल्सियसभन्दा माथि तापक्रम उक्लँदै गरेको छ ।

प्रतिक्रिया