१५ वटा सहकारी संस्थाद्धारा बचतकर्ताको १७ अर्ब १९ करोड रुपियाँभन्दा बढी हिनामिना

काठमाडौं । संघीय सरकार मातहत दर्ता भएका १५ वटा सहकारी संस्थाले बचतकर्ताको १७ अर्ब १९ करोड रुपियाँभन्दा बढी हिनामिना गरेको पाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पछिल्लो तथ्याङ्कले सो बचत रकम हिनामिना भएको देखाएको हो । देशभरिका पाँच सयभन्दा बढी सहकारी सङ्कटग्रस्त सहकारीका सात हजार ६ सय ३५ बचतकर्ताले बचत रकम फिर्ता गरिनुपर्ने मागसहित समितिमा उजुरी दिएका छन् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा झन्डै ३२ हजार सहकारी संस्था दर्ता भएका छन् । १ सय ४५ वटा सहकारी संस्था सङ्घमा दर्ता भएका छन् । तीमध्ये १९ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापनका लागि सफारिस गरिएको छ । १५ वटा सहकारीको आर्थिक अपचलनको माग दाबी सङ्कलन गरी बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा मात्रै ११ अर्ब रुपियाँ अपचलन भएको देखिएको छ ।

प्रतिक्रिया