प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने गरी केही समय ‘होल्ड’ भएका छन् । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा अवतरण गरिएको छ । प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार ६ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

प्रतिक्रिया