पानीजहाजको ठक्करवाट क्षतिग्रस्त बाल्टिमोरस्थित पुल र बन्दरगाह छिट्टै सञ्चालनमा ल्याइने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले बाल्टिमोरमा मालबाहक पानी जहाजको ठक्करले पुल भत्किएको पुल संघीय सरकारले बनाउने बताएका छन । उनले पुल पुनर्निर्माणको सम्पूर्ण खर्च संघीय सरकारले बेहोर्ने र पुल तथा बन्दरगाह छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिएका हुन । पानी जहाजको ठक्करले फ्रान्सिस स्कट कि पुल भत्किए लगत्तै सुरु भएको उद्धार कार्य अझै जारी छ । अमेरिकाको बाल्टिमोरमा मालबाहक पानी जहाजको ठक्करले पुल भत्किएपछि नदीमा खसेका सवारी साधनमध्ये एउटाबाट दुई जनाको शव निकालिएको छ ।पटापस्को नदीमा खसेका सवारी साधनमध्ये एउटा रातो गाडीबाट दुई जनाको शव निकालिएको हो । नदीमा खसेका अन्य चार जनाको पनि मृत्यु भएको आशंका गरिएको छ ।  अनुसन्धानकर्ताका अनुसार हवाई जहाजको ब्ल्याक बक्सजस्तै दुर्घटनामा परेको डाली नामको सिङ्गापुरको ध्वजाबाहक पानी जहाजको डेटा रेकर्डर भेटिएको छ । अमेरिकी कोस्ट गार्डले जहाजमा १५ लाख ग्यालेन इन्धन र हानिकारक कार्गो रहे पनि स्थानीय नागरिकलाई कुनै जोखिम नरहेको बताइएको छ । पानी जहाजमा २२ सदस्यीय चालक दलका सबै भारतीय नागरिक रहेको र उनीहरु सबै सुरक्षित रहेको कोस्ट गार्डले जनाएको छ । प्राविधिक गडबडीले विद्युत् आपूर्तिमा समस्या आउँदा जहाज पुलमा ठोक्किएको बताइएको छ ।

प्रतिक्रिया