नयाँ पाठ्यक्रम अनुसार माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ आजदेखि सुरु

काठमाडौं । नयाँ पाठ्यक्रमअनुसार माध्यमिक शिक्षा परीक्षा एसइई आजदेखि सुरु भएको छ । दुई हजार ६३ केन्द्रमा आजदेखि सुरु भएको परीक्षा आगामी २७ गतेसम्म चल्नेछ । परीक्षामा देशभरबाट पाँच लाख चार हजार ४ सय १४ जना सहभागी भएको  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा दिने छात्राको संख्या दुई लाख ५० हजार ७ सय ७२ र छात्रको संख्या दुई लाख ५३ हजार ६ सय २७ छ । त्यस्तै यसपटक ‘अन्य समूह’बाट पनि १५ जना परीक्षार्थी सहभागी भएका छन । परीक्षा राम्रैसँग दिन  पाएको सहभागी विद्यार्थीको प्रतिक्रिया छ । 
जापानमा रहेको एभरेस्ट इन्टरनेसनल स्कुलका २३ विद्यार्थी पनि परीक्षामा सहभागिता जनाएका छन । यस पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने भएकाले पास र फेल हुने व्यवस्था गरिएको छ । परीक्षा व्यवस्थापनमा खटिएका शिक्षक र केन्द्राध्यक्षहरुले पनि विद्यार्थीले राम्रो बातावरणमा परीक्षा दिएको प्रतिक्रिया दिएका छन ।
विगतमा ग्रेडिङ प्रणालीमा पास र फेलको व्यवस्था थिएन । ‘यसपटक परीक्षार्थीले पास हुन प्रत्येक विषयको सैद्धान्तिकतर्फ ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ । विद्यार्थीको सबै प्रकारको क्षमता मापन गर्न बोर्डले गणित, विज्ञान र अंग्रेजी विषयको स्तरीकृत प्रश्नपत्र बनाएको बोर्डले जनाएको छ । विगतमा एसइईमा सबै पास हुने ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाइस्तर कमजोर बनाएकाले यस पटकदेखि सबै पास हुने व्यवस्था हटाइएको हो । अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न र मिल्दो बनाउन राष्ट्रिय पाठ्यक्रमले यस वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा ल्याएको बोर्डको भनाइ छ ।
 

प्रतिक्रिया