संघीय संसदको दुवै सदनले बिजनेस बिहिन

काठमाडौं । सरकारको बेवास्ताको परिणाम संघीय संसदको दुवै सदनले बिजनेस बिहिन भएर बस्नुपरेको छ । २४ वटा विधेयक विचाराधिन अवस्थामा रहेको संघीय संसदमा तत्काल एउटा विधेयक मात्रै पारित हुने अवस्थामा छ । राष्ट्रिय सभाको प्रतिवेदनसहित प्रतिनिधि सभामा आएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित हुने अवस्थामा छ । बाँकी २३ वटा  विधेयक संघीय संसदको  विभिन्न समितिमा विचाराधिन छन् । सबै विधेयकहरु समितिमा छलफलकै क्रममा रहेका छन्, कुनैपनि विधेयक पारित भएर फुल हाउसमा जाने अवस्थामा छैनन् । प्रतिनिधि सभामा केही समयका लागि बिजनेस देखिएपनि आगामी चैत्र १५ गतेको बैठकपछि राष्ट्रिय सभा बिजनेस बिहिन हुने देखिएको छ । आगामि हप्ताभित्र प्रतिनिधि सभाले विधेयक नपठाए वा सरकारले विधेयक दर्ता नगरे राष्ट्रिय सभाको बैठक नै  बस्नसक्ने अवस्था छैन ।  
संघीय संसदको दुवै सदनमा जम्मा २४ वटा विधेयक रहेका छन । जसमध्ये प्रतिनिधि सभामा २३ वटा र राष्ट्रिय सभामा एकवटा विधेयक छन । प्रतिनिधि सभामा ९ वटा विधेयक विचाराधिन अवस्थामा छन् । त्यस्तै प्रतिनिधि सभाको विभिन्न समितिमा १२ वटा विधेयक रहेका छन् भने राष्ट्रिय सभाको समितिमा एउटा विधेयक छ । त्यसैगरी प्रतिनिधि सभामा पेश हुन बाँकी अवस्थामा दुई वटा विधेयक रहेका छन् । जुन भर्खरै दर्ता भएका विधेयकहरु हुन् भने संसदको चालु अधिवेशनमा प्रतिनिधि सभाले एउटा र राष्ट्रिय सभाले एउटा गरी जम्मा दुईवटा विधेयक पारित गरेको छ । गत माघ २२ गतेबाट शुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशन र राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशनको यतिका दिनसम्म आइसक्दा पनि विधेयक पारित गर्ने सन्दर्भमा उल्लेख्य प्रगति हासिल हुन सकेको छैन ।

प्रतिक्रिया