संसदको राज्य व्यवस्था समितिमा गृहमन्त्री लामिछानेसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति बैठकमा समेत उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन माग गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधानमन्त्री लामिछानेलाई सहकारी प्रकरणको छानबिन अवधिभर राजीनामा दिन आग्रह गरेका हुन् । समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आज गृह मन्त्रालयले गरेका पछिल्ला कामकारबाहीका बारेमा जानकारी लिन बैठकमा बोलाएको हो । सहकारीको एक करोड ठगी प्रकरणमा गृहमन्त्री नै मुछिएकाले छानबिनको निष्पक्षताका लागि पनि राजीनामा दिन आवश्यक रहेको बडुको भनाइ थियो । उनले बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीलाई छानबिन गर्ने भनि सभामुखलाई प्रहरीले पत्र लेखेको प्रति असन्तुष्टि व्यक्त गरे । संविधानको कुन व्यवस्था अनुरुप सांसदको छानबिन गरिँदैछ भनि पत्र लेखेको हो स्पष्ट पार्न माग गरे । एमाले सांसद पृथ्वीसुब्बा गुरुङले जीवी राईलाई पक्राउ गर्ने प्रक्रिया कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न सोधे । राई मलेसियामा भएको गृहमन्त्रीले नै भनेको उनले स्मरण गराए । नेकपा एमालेका सांसद रघुजी पन्तले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार भेटिनु कत्तिको स्वभाविक हो भन्दै प्रश्न गरे । कांग्रेस सांसद हृदयराम थानीले सबै कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्नुपर्ने बताए । गृहमन्त्रीले निर्मला पन्तको हत्यारा छानबिन गर्छु भने पनि त्यसतर्फ ध्यान नदिएको उनको गुनासो थियो । समिति सदस्य सर्वेन्द्रनाथ शुक्लले जनताले अनुभूत गर्नेगरी काम नभएको आरोप लगाए ।  राप्रपा सासंद बुद्धिमान तामाङले गृहमन्त्रालयले यक्तिको चरित्रहत्या गर्ने उद्धेश्यले उद्योगी व्यवसायीलाई पक्राउ गर्ने गरेको आरोप लगाए । कृष्णबहादुर महरा पक्राउ प्रकरणलाई उदाहरणमा रुपमा प्रस्तुत गर्दै हचुवाका भरमा कसैलाई पक्राउ नगर्न उनले ध्यानाकर्षण गराए । छलफलमा गृहसचिव एकनारायण अर्यालले शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि गृह मन्त्रालयले जिल्ला प्रशासनलाई दिएको निर्देशनमा अरु कुनै कैफियत नरहेको बताए । यस्तै नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले ललितपुरको ढोलाहिटी घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया