पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध मुद्दा चलाउन सिफारिस भएको छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले ९ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउनुपर्ने सिफारिस गरेको हो। आयोगले प्रतिवेदन बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई मुद्दा नचलाएर इलेक्ट्रिक चुरोट (भेप)मार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा कागज मात्रै गराएर छाडेको थियो।

यद्यपि उनका छोरा राहुल महरालाई भने पक्राउ गरी मुद्दा चलाएको थियो। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्।

महरा बाबुछोराको सम्पर्क सिधै तस्कर दाओजिन वाङसँग पटकपटक भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। तर पनि सिआइबीले उनीहरूविरूद्ध पहिलो चरणको अनुसन्धानमा सोधपुछ नगरी मुद्दा बुझाएको थियो।
 

प्रतिक्रिया