श्रीस्वस्थानी व्रतकथा आजबाट शुरु, शालीनदीमा माधवनारायण मेला

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ । यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ ।नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधि लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशमा स्वस्थानी व्रत बसेर महादेव पति पाएको उल्लेख छ। गोमा र चन्द्रावतीलगायत पात्रले स्वस्थानीको व्रत गरी इच्छाअनुसारको वरदान पाएको व्रतकथामा उल्लेख छ ।। 
 

प्रतिक्रिया