ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन वान नेपालमा पनि भेटियो

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन. वान नेपालमा पनि पहिलो पटक देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. वान को सङ्क्रमण पुष्टि भएको हो । देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरु परीक्षण गर्दा ओमिक्रोनको सब भेरियन्ट जेएन वान फेला परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन. वान फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल विश्वका केही देशहरुमा अहिले कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन. १ को जोखिम बढिरहेको छ । छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको जनाएको छ । कोभिड–१९ को नयाँ सब–भेरियन्ट जेएन. वान संक्रमणको जोखिम बढेकाले स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन मन्त्तालयले अनुरोध समेत गरेको छ । सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यको सबै मापदण्डहरू अनिवार्य रूपमा पालना गर्न गराउन मन्त्रालयले अपिल समेत गरेको छ ।। 

प्रतिक्रिया