इजलासमा रविको इन्कारी बयान, सरकारी वकिल भन्छन्– ऋण लिने रवि नै हुन्

काठमाडौं । सरकारी वकिलहरूले बुटवल–११ को ठेगानामा सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नै भएको दावी गरेका छन् ।

रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलहरूले बहसका क्रममा कागजपत्रले उक्त ठेगाना राखेर प्रवाह भएको ऋण गोर्खा मिडिया नेटवर्कमै गएको जिकिर गरेका हुन् । यो मुद्दामा ७ जना सरकारी वकिलहरूले बहस गर्दैछन् । बिहीबार खाजा ब्रेकअघि ७ मध्ये ४ जनाको बसह सकिएको छ भने ३ जनाको बाँकी छ ।

इजलासमा सभापति लामिछानेले इन्कारी बयान दिएको बताइएको छ । लामिछानेको इन्कारी बयानपछि सरकारी वकिलले भनेका छन्, “एक आपसमा मिलेर लगभग २९ हजार निक्षेपकर्ताको पैसा डुबेको अवस्था छ । यसरी सहकारी ऐन विपरीत आफ्नो खातामा सहकारीबाट ऋण लिएर गैरकानुनी रुपमा आफूले चलाएको कारण थुनामा राखेर कारबाही हुनुपर्छ ।”

लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा गत आइतबार अदालतमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दालाई सघाउन मंगलबार भैरहवा गएका लामिछाने बुधबार बिहान अदालत उपस्थित भएका थिए । बुधबार लामिछानेमाथिको बहस सकिएपनि थुकछेक बहस आज भएको हो । लामिछाने सँग सुप्रीम सहकारीको मुद्दामा ४ करोड बढी विगो माग गरिएको छ ।

सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रविविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता भएको थियो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पौष २५ गते जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा पनि उनी काठमाडौं जिल्ला अदालतबाट ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।

 

प्रतिक्रिया