अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै जारी गरेको अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताएका छन् । 

बेनीमा मङ्गलबार आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेश बाट भएको कानून परिवर्तनले निजी क्षेत्र उत्साही भएको बताए । 

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश बाट लगानी प्रवर्द्धनमा मद्दत पुग्ने अध्यक्ष ढकालले उल्लेख गरे । “सरकारका तर्फ बाट भएको कानून परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ”, उनले भने, “निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानून परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ ।”

कोरोना महामारी, रुस र युक्रेनको युद्ध तथा नेपालका विद्यमान ऐन, कानुनका कारण सङ्कुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझाव अनुसार सरकारले अध्यादेश जारी गरेको अध्यक्ष ढकालको कथन थियो । उनले म्याग्दीका उद्योगी, व्यवसायीहरूले तयार पार्ने कृषि, पर्यटन, जलस्रोत सम्बन्धी योजनामा लगानी भित्र्याउन उद्योग वाणिज्य महासङ्घ मार्फत सहजीकरण गर्ने प्रतिबद्धता जनाए । 

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान बनाउन, सम्भावनाको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, खेलकुद प्रतिभा पहिचान, कला र संस्कृतिको संरक्षण गर्न महोत्सव सफल भएको बताए । 

पुस २८ गते देखि शुरु भएको महोत्सवमा स्थानीय, औद्योगिक उत्पादनका दुई सय ३० वटा व्यापारिक स्टल थिए । महोत्सवमा १० करोडको कारोबार भएको र एक लाख दर्शकले अवलोकन गरेका अध्यक्ष श्रेष्ठले बताए । 
रासस 

प्रतिक्रिया