गाजा सम्झौता कायम रहने विषयमा आफू विश्वस्त नभएको ट्रम्पको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो शपथ ग्रहण अघि युद्धविरामका लागि गरिएको कूटनीतिको प्रशंसा गर्दै गाजामा युद्धविराम सम्झौता हुने कुरामा आफू विश्वस्त नभएको बताएका छन् । 

“म विश्वस्त छैन”, ह्वाइट हाउस फर्किँदा एक पत्रकारले दुवै पक्षले युद्धविराम कायम राख्ने र सम्झौतामा अघि बढ्ने बारे सोध्दा उनले भने, “यो हाम्रो युद्ध होइन यो उनीहरूको युद्ध हो । तर, म विश्वस्त छैन ।”

तथापि ट्रम्पले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको अभूतपूर्व आक्रमण बाट शुरु भएको युद्धमा हमास ‘कमजोर’ भएको विश्वास गरेको बताए । “मैले गाजाको एउटा तस्विर हेरेँ”, उनले भने, “गाजा एक विशाल विध्वंस स्थल जस्तै छ ।”

इजरायल र हमासले आइतबार बन्दी र कैदीहरूको आदान–प्रदान समावेश भएको युद्धविराम सम्झौता कार्यान्वयन गर्न थालेका छन् । यो योजना शुरुमा तत्कालीन राष्ट्रपति जो बाइडेनले मे महिनामा प्रस्तुत गरेका थिए ।  बाइडेन तथा ट्रम्पका दूतहरूको असामान्य संयुक्त कूटनीति पछि यसलाई अघि बढाइएको थियो ।

सम्झौताका लागि दबाब दिँदै ट्रम्पले इजरायललाई दृढतापूर्वक समर्थन गर्ने पनि स्पष्ट पारेका छन् । आफ्नो पहिलो कार्यहरू मध्ये एकमा उनले प्यालेस्टिनीहरू विरुद्धको आक्रमणलाई लिएर बाइडेन प्रशासनले वेस्ट ब्याङ्कमा कट्टरपन्थी इजरायली बसोबास गर्नेहरू माथि लगाएको प्रतिबन्धहरू खारेज गरे । 

रासस 

प्रतिक्रिया