माओवादीले माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा

काठमाडौं । प्रमुख पतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिको मंगलबार बसेको बैठकमा सदस्य दाहालले सभापति पोखरेल नैतिक हिसाबले कमजोर भएको भन्दै राजीनामा मागेका हुन । सहकारी ठगी प्रकरणमा श्रीमती र भ्रष्टाचारमा पीए जोडिए पनि दाहाल समिति सभापतिमा टाँसिएर बसेको उनले आरोप लगाए ।

छलफलमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बदनियत राखेर अध्यादेश ल्याएको जिकिर गरे । अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको उनको भनाइ छ । केसीले लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने बताए ।

नेकपा एमालेका सांसद  गोकुल बास्टोकाले अध्यादेश ल्याउनु अलोकतान्त्रिक नरहेको बताए । अध्यादेश संवैधानिक व्यवस्था रहेको उनको जिकिर छ । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समितिको सभापति प्रतिपक्षलाई दिने प्रचलन यसअघि नै विगारिएको बताए । उनले प्रतिपक्षलाई दिने व्यवस्था नियमावलीमै गर्न पनि सुझाव दिए ।

रास्वपा सांसद हरि ढकालले पनि लेखा समिति प्रतिपक्षको हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले भ्रष्टाचारसँग जोडिएका उजुरीलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिए । समितिले आज सांसदहरूलाई उजुरीको चाङ बाँडेको छ । समितिमा विभिन्न विषयमा ९० वटाभन्दा बढी उजुरी परेका छन ।  

प्रतिक्रिया