आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै जानुपर्छ : अध्यक्ष यादव
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै समयसापेक्ष अधिकारका लागि निरन्तर पहल गरिरहने बताएका छन् ।
जसपा नेपालले आज यहाँ आयोजना गरेको १८औं बलिदानी दिवस तथा आमसभामा अध्यक्ष यादवले सामाजिक न्याय, समानता, स्वतन्त्रता, हकअधिकारका लागि एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्ने बताए । उनले आज अधिकारका लागि बलिदान दिने वीर सपुतहरूलाई सम्झिने दिन रहेको उल्लेख गरे ।
शोषित–पीडित जनताको मुक्तिका लागि, दासत्वपूर्ण जीवनबाट मुक्ति पाउन वीर सहिदले आफ्नो जीवनको बलिदान दिएर समानता, स्वतन्त्रता, हकअधिकारको रक्षा गरेकाले यसको संरक्षणमा सबै एकजुट हुनुको विकल्प नभएको अध्यक्ष यादवले धारणा राखे ।
हरेक वर्ष मधेश प्रदेश सरकारले माघ ५ गते मनाउने बलिदानी दिवसका अवसरमा मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहित सबै सहिदहरूको लहानस्थित सालिकमा अध्यक्ष उपेन्द्र यादवले माल्यार्पण गरेका छन् ।
कार्यक्रममा जसपाका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डललगायत नेताहरूको उपस्थिति थियो । माघ ५ अर्थात् आजकै दिन २०६३ सालमा मधेश आन्दोलनका क्रममा महतोको ज्यान गएको थियो । त्यसयता आजको दिनलाई मधेश केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन् ।
प्रतिक्रिया