‘नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण आवश्यक छ’

ललितपुर ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेताहरूले नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । उक्त पार्टीको ललितपुर महानगर भेलामा आज नेताहरूले समाज परिवर्तनका लागि भनेर स्थापना भएका नयाँ राजनीतिक शक्तिहरू साझा उद्देश्य पूर्तिका लागि एकठाउँमा आउनुपर्ने आवश्यकता औँल्याएका   हुन्  ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य दुर्गा शोबले समाजमा रहेको यथास्थितिवादी सोचलाई परिवर्तन गर्दै आधुनिक र समुन्नत समाज निर्माणका काम गर्नुपर्नेमा जोड दिए । यसमा जनप्रतिनिधिको भूमिका अझ बढी रहेको उनको भनाइ थियो । “जुन पार्टीबाट जितेको भए पनि जनताको प्रतिनिधि हो, उनीहरूले सबैका लागि काम गर्नुपर्छ । हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूले गलत कुराको विरोध र खबरदारी गर्नुपर्छ”, शोबले भने ।केन्द्रीय सङ्गठन विभाग प्रमुख सोनामसिं स्याङ्तानले वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय र एकताका आधारमा शक्ति सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दलबहादुर (डिबी) लिम्बूले समाजवाद उन्मुख समृद्धिको अभियानका लागि राजनीतिक अभियान अगाडि बढाउनुपर्ने बताए । केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य अमृत पुरीले विचारलाई संश्लेषण गरेर जनतामा पुर्‍याउन र वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्न समूहगत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य जनक थापा, जिल्ला समन्वय समितिका संयोजक कृष्ण महर्जन, मजदुर सङ्गठनका इन्चार्ज तथा गोदावरी नगरपालिकाका संयोजक कृष्णमुरारी ढकाललगायतले सम्बोधन गरेका थिए । भेलाले मदन महर्जनको संयोजकत्वमा ३५ सदस्यीय महानगर समिति गठन गरेको छ ।

प्रतिक्रिया